बिर्तामोड । झापा गोल्ड कपको छैटौँ संस्करणले यती ब्रुअरीको साथ पाएको छ । फागुन १९ देखि हुने गोल्डकपका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको हो ।

 

छैटौँ झापा गोल्डकपलाई यती ब्रुअरीको उत्पादन अर्नाले प्रायोजन गर्ने भएको हो । झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा पत्रकार सम्मेलन गरेर मुख्य प्रायोजक अर्ना र झापा गोल्डकपबीच सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो ।

 

झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका कोशी प्रादेशिक मेनेजर विदुर तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरे । हस्ताक्षरपछि उक्त सम्झौतापत्र आदान–प्रदान गरिएको थियो ।

 

गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलले स्वागत गरेको कार्यक्रममा यति ब्रुअरीका सेल्स मेनेजर सरोज खतिवडा, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव तथा भद्रपुर नगरका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपाध्यक्ष गौरव सुब्बालगायतको उपस्थिति रहेको थियो ।

 

झापा गोल्डकप सबैको गौरव भएकाले सबैको साथ र सहयोग आवश्यक भएको अध्यक्ष बस्नेतले बताएका छन् । धन हुनेले धन र मन हुनेले मनबाट साथ र सहयोग गर्न अध्यक्ष बस्नेतले आग्रह गरेका छन् ।

 

फागुन २८ गतेसम्म आयोजना हुने प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माण गरिएको छ । मैदानको स्तरोन्नति सकिएको छ ।

 

छैटौँ संस्करणको झापा गोल्ड कपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

 

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, तीन विभागीयसहित नेपालका ए डिभिजन क्लब र मोफसलका क्लबको सहभागिता रहनेछ । केही दिनमै खेलतालिका सार्वजनिक गरिने झापा गोल्डकपको सचिवालयले जनाएको छ ।