बिर्तामोड । झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठुलो भनेर दाबी गरिने एक प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

 

झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिएको छ । यद्यपि अझै नियन्त्रणमा लिन नसकिएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।

 

उनका अनुसार उद्योगको कच्चा पदार्थमा बढी क्षति पुगेको छ । तयारी माल भने जोगिएको उनले बताए । ‘आगो अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो निभाउने प्रयास भइरहेको छ,’ उनले भने ।

 

आगलागीको कारण अनुसन्धान भइरहेको र आगलागीबाट कति क्षति भयो भन्ने विषय अहिले नै यकिन नभएको उनले बताए । उद्योगमा नेपाली र भारतीयसहित हजारभन्दा बढी श्रमिक कार्यरत छन् भने करोडौँ रुपैयाँ लगानी भएको उद्योगीको भनाई छ ।