ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट ५५ लाख भेटी सङ्कलन भएको जनाएको छ ।

 

फागुन महिनामा संकलन भएको ५५ लाख ७० हजार ८८० रुपैँया विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ । फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले जानकारी गराएको हो ।

 

समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा सङ्कलित भेटीघाटी सार्वजनिक गर्दै आएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।

 

यस्तै पछिल्लो एक महिनामा स्वदेशी तथा विदेशी गरी १७ हजार ९१२ जना तीर्थयात्री पाथीभरा मन्दिरमा पुगेको तथ्याङ्कसमेत समितिले सार्वजनिक गरेको छ । केही दिनयतादेखि मौसम न्यानो भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ ।

 

यसैबीच पाथीभरामा सङ्कलन भएको सुनचाँदी लिलाम बिक्री प्रक्रियामा रहेको समितिले जनाएको छ । रिफाइन गरिएको १७८ तोला ८२ लाल सुन र पाँच हजार २९८ तोला १२ लाल चाँदी बिक्रीको प्रक्रियामा रहेको बताइएको छ । गत फागुन २० गते लिलाम बिक्रीको सूचना निकालिएको र बिक्री प्रक्रियामा नै रहेको समितिले जनाएको छ ।