श्रीअन्तु पोखरीबाट देखिने मनोरम दृश्य । तस्वीरः सुवास राई/न्यूज सञ्जाल

इलाम । इलामको पर्यटकीयस्थल श्रीअन्तुमा नयाँ वर्ष २०८१ को अवसरमा महोत्सव आयोजना गरिने भएको छ । सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध मानिने अन्तुमा यही चैत ३० र वैशाख १ गते विभिन्न कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागिएको सूर्योदय नगरपालिकाले जनाएको छ ।

 

वर्षैभर पर्यटक खचाखचजस्तै हुने अन्तुमा नयाँ वर्षमा पनि इलाम भित्रने पर्यटकलाई केन्द्रित गर्न महोत्सव आयोजना गरिएको नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले बताए । महोत्सवमा सूर्योदय आइडलको प्रस्तुति, स्थानीय खाद्य परिकारको स्टल, शुभकामाना आदानप्रदान, विभिन्न सांस्कृतिक कार्यक्रम तय गरिएको उपप्रमुख बरालले जानकारी दिए ।

 

महोत्सवमा चर्चित कलाकारहरू यम बराल, भूपेन्द्र राई, पूजन प्रधान, गणेश–यशोदा पराजुलीसहित फुटी शेर्पा, रवि रिमाललगायतको साङ्गीतिक प्रस्तुतिसमेत राखिएको छ ।

 

विशेष गरी तराईका र पश्चिमी जिल्लाबाट अन्तुमा पर्यटक आउने गरेका छन् । भारतका विभिन्न स्थान र तेस्रो मुलुकका पर्यटकसमेत अन्तु पुग्ने गरेका छन् । अन्तुमा पर्यटकका लागि होमस्टे सञ्चालन गरिएको छ । यहाँ कटेज र सुविधासम्पन्न होटलसमेत रहेका छन् ।

 

सूर्योदय नगरपालिकाको फिक्कलनजिक छिपिटारबाट १३ किलोमिटर कालोपत्रे सडक पार गरेर पुग्न सकिने अन्तुमा बर्सेनि भित्रने पर्यटकको सङ्ख्या ठुलो छ । यो चालु आर्थिक वर्षको साउनदेखि चैत १६ गतेसम्मको तथ्याङ्क हेर्दा अन्तुडाँडामा पुगेर फर्कने पर्यटकको सङ्ख्या ६० हजार रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिए ।

 

अन्तु र कन्यामबाट नगरपालिकालाई वार्षिक करिब एक करोड रुपियाँ राजस्व आम्दानी हुने गरेको भट्टराईको भनाइ छ । अन्तुको भ्युटावरको टिकट, अन्तु पोखरीमा डुङ्गा सयर, कन्याममा राखिएका स्टलहरू आदिबाट यो आम्दानी हुने गरेको हो ।

 

अन्तु पुग्ने पर्यटकले सूर्योदयको दृश्यावलोकन, अन्तु पोखरीमा डुङ्गा सयर, अन्तुडाँडाबाट विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने गरेका छन् ।

 

नयाँ वर्षमा अयोजना गरिने महोत्सवमा पनि यहाँ रहेका ६६ वटा होमस्टे, निजी ढङ्गले चलेका होटल र कटेजहरूमा समेत गरेर पाँच हजार जनाले रात बिताउन सक्ने गरी व्यवस्थापनको तयारी गरेको नगरपालिकाले जनाएको छ ।