झापा । झापाका सहकारी संस्थाहरुमा तोडफोड र चोरी हुने क्रममा एकैरात गौरादहका दुईवटा सहकारीमा चोरी भएको छ ।

 

गएराति गौरादह ५ स्कूलचौन बजारमा रहेको जनहित सहकारीमा कार्यालय फोडेर चोरी भएको हो । त्यस्तै गौरादह ५ चप्रामारीमा रहेको महारानी झोडा सहकारीमा पनि गएराति नै चोरी भएको जनाइएको छ । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली खटाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

यसअघि गत चैत ५ गते राति गौरादह ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको थियो । त्यस्तै केही दिनअघि हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको हल्दिवारीको मंगलबारेमा रहेको शाखामा चोरी गर्ने प्रयास भएको थियो ।

 

त्यस्तै कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४, साना किसान कृषि सहकारी संस्था हल्दिवारी ४, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीलगायतका संस्थामा चोरी र तोडफोडका घटना भएका थिए ।

 

गत फागुन १० गते जिल्लाका विभिन्न सहकारी संस्थाहरुमा लगातार भइरहेको चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको थियो।