भद्रपुर । झापामा फुटबल खेलको विकास तथा मेची रंगशालाको संरक्षण गर्ने उद्देश्य राखेर स्थापना भएको भद्रपुर झापा गोल्डकपको प्रथम वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

 

गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले साधारणसभाको उद्घाटन गरेका थिए ।

 

गोल्डकपका उपाध्यक्ष डिल्लीराम घिमिरे (हिक्मत) ले स्वागत गरेको कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा)लाई सम्मानसमेत गरिएको थियो ।

 

साधारणसभामा प्रथम भद्रपुर झापा गोल्डकपको आय व्ययसमेत सार्वजनिक गरिएको थियो । गोल्डकपका कोषाध्यक्ष गणेशलाल राजभण्डारीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार ३ करोड ३० लाख १६ हजार ३३८ रुपैयाँ आम्दानी भएको छ ।

 

त्यस्तै विभिन्न खर्च गरेर जम्मा २ करोड २१ लाख ८४ हजार ९३३ भएको जनाइएको छ । प्राप्त हुन बाँकी रकम २९ लाख २६ हजार ४३९ रुपैयाँ रहेको प्रतिवेदनमा छ ।

 

गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा मन्त्री कार्की, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चन्डीराज ढकाल, प्रदेश सांसद छबिलाल चुँडाल, निमसरी राजवंशी, पूर्व प्रदेश सांसद बसन्त बानिया, भद्रपुर नगरका प्रमुख प्रशासकीय अधिकृत सुनल निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

बन्दसत्रले अध्यक्ष ढकाल, महासचिव श्रेष्ठ र कोषाध्यक्ष राजभण्डारीको प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ । त्यस्तै दोस्रो भद्रपुर झापा गोल्ड कप भब्यताका साथ गर्ने निर्णय समेत भएको जनाइएको छ ।