झापा । चीनमा उत्पादन भएको लाइटर पूर्वी नाका भएर भारततर्फ तस्करी बढ्दै गएको छ । हिजो साँझ प्रहरीले झापाको मेचीनगरबाट २९ काटुन लाइटर बरामद गरेको छ ।
साँझ अन्दाजी ६ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षक मिमबहादुर लामा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी नायव उपरीक्षक राजनलाल श्रेष्ठको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर ७ धनकुटे बस्तीमा परालको कुन्यूमा लुकाई छिपाई राखेको अवस्थामा लाइटर बरामद गरेको थियो ।
अन्दाजी मूल्य २ लाख ९० हजारबराबरको २९ काटुन लाइटर बरामद गरेको प्रहरीले जनाएको छ । लाइटर नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पछिल्लो समय नेपालबाट अवैधरुपमा भारततर्फ चाइनिज लाइटरको कारोबार बढेको छ । चैतको दोस्रो साता पश्चिम बंगाल प्रहरीले दार्जिलिङ सिलिगुडीको खालपाडा इलाकाको एउटा गोदामबाट ४० काटुन चाइनिज लाइटर भण्डारण गरेको अवस्थामा बरामद गरेको थियो ।
त्यसपछि गत चैत २३ साँझ ६ बजे मेचीनगर ७ को गैरीगाउँबाट नेपाल प्रहरीले करिब ४० हजार रुपैयाँ मूल्यबराबरको चार काटुन लाइटर नियन्त्रणमा लिएको थियो ।