बिर्तामोड । झापा अर्जुनधारा ११ का एक जना किसानले पालेको गाईको मृत्यु भएपछि बुधबार उनले विमावापतको रकम पाएका छन् । विमाकाे रकम पाइँदैन भन्ने हल्ला किसानले घरमै चेक पाएपछि गलत सावित भएकाे छ ।

 

अर्जुनधारा ११ स्थित माता मन्दिर उत्तरपूर्व घर भएका बोधराज दाहालले पालेको गाई फागुन १२ गते मरेको थियो । मृत्युअघि गाईलाई कडा ज्वरो आइ खुट्टा चल्न नसक्ने अवस्थामा पुगेको दाहालले बताए ।

 

उनी करिब ६ महिनाअघि वडा कार्यालयले ल्याएको पशु विमा कार्यक्रममा सहभागी भएका थिए । जसअनुरुप बिर्तामोडमा शाखा रहेको आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्समा दाहालले दुई वटा गाईको विमा गराएका थिए ।

 

९० हजारबराबरको विमा गराएका दाहालले मात्र १० प्रतिशत रकम बुझाए । नगरपालिकाले ८० र वडा कार्यालयले १० प्रतिशत विमावापतकाे रकम अनुदान किसानलाई उपलब्ध गराएको थियो ।

 

वडा कार्यालयबाट पशु धन क्षति हुन रोक्न चालेको कार्यक्रमबाट दाहालले ९० प्रतिशत अर्थात ८१ हजार रुपैयाँ विमावापतकाे चेक थापेपछि खुसी व्यक्त गरे । उनले पशुको मात्र नभएर सबै किसिमको विमा गर्नुपर्ने धारणा राखे ।

 

दाहाललाई वडाध्यक्ष खगेन्द्र इङनाम, आर्थिक समितिकी संयोजक गौरीमाया चिमरिया, इन्स्योरेन्सका शाखा प्रमुख दिपक पोख्रेल, जनप्रतिनिधिहरु केशव अधिकारी, पूर्णकुमार राई, टुम्मनाथ काफ्ले, नगर पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख पदमलाल राईलगायतले चेक हस्तान्तरण गरेका थिए ।

 

यस वर्ष वडाको बजेटबाट ११ नम्बर वडामा १८० घरका २०० वटा पशुको विमा गरिएको वडा सदस्य केशव अधिकारीले जानकारी दिए । उनका अनुसार वडामा १ करोड ६० लाखबराबरको विमा गरिएको छ ।

 

यस्तै, गतवर्ष नगरभरि करिब १० करोडबराबरको विमामार्फत रिक्स कभर गरिएको नगर शाखा प्रमुख राईले जानकारी दिए । संक्षिप्त कार्यक्रममा वडाध्यक्ष इङनाम र शाखा प्रमुख राईले आफ्ना भनाइ राखेका थिए ।