शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका कृषि शाखाको आयोजनामा एकदिने बाली उपचार शिविर आइतबार सम्पन्न भएको छ । कृषि बालीमा देखिएको समस्या र निदानका लागि शिविर सञ्चाल गरिएको हो ।

 

परम्परागत खेती प्रणालीमा आधारित स्थानीय कृषकलाई लक्षित गरी विषादी न्यूनीकरणका लागि पनि शिविर आयोजना गरिएको बताइएको छ । शिविरमा आफूले उत्पादन गरेका बालीनालीमा रोग तथा कीरा संक्रमण भएका कृषिजन्य वस्तु कृषकले ल्याएका थिए ।

 

कृषकले व्यावसायिकरुपमा र आफूले उपभोग गर्नका लगाइएका तरकारी बाली र फलफूलमा विशेष गरेर फल कुहाउने औंसा, लाही, कीरा, खपटे, गवारोजस्ता समस्या देखिएको कृषि शाखा प्रमुख एन्जिला बेडारीले जानकारी दिइन् ।

 

यस्तै, नगदे बाली उखुमा लाही, फ्लासी बोरर, रातो कमिला, मकैमा फौजी कीरा, लाही, भिण्डी खेतीमा हरियो फड्के कीराको प्रकोपजस्ता समस्या रहेको कृषकले ल्याएका कृषि उत्पादनमा भेटिएका थियो ।

 

समयमै आवश्यक मल नलगाएको, माटोमा खाद्यतत्वको कमी देखिएको, माटो परीक्षण नगरी खेती गरिएका कारण बालीमा विभिन्न रोग तथा कीराको संक्रमण भएको शाखाका कृषि प्राविधिक तथा प्लान्ट डाक्टर सन्तोष लामिछानेले बताए ।

 

उनका अनुसार पछौटे डढुवा (डाउनी मिल्ड्यू), पात पहेंलिने, पात गुजमुझिने भाइरसको संक्रमण भेटिएको छ । कृषकलाई विषादी न्यूनीकरणका लागि घरमै उत्पदान हुने झोल मललाई प्राथमिकता दिन सुझाव दिइएको बताइएको छ ।

 

अर्जुनधारा ९, १० र ११ नम्बर वडाका लागि ९ नम्बर वडा कार्यालयमा आयोजित शिविरमा ५५ जना कृषकले आफ्नो कृषि उत्पादनमा देखिएका समस्या नमूनासहित सहभागी भएका थिए ।

 

९ नम्बर वडाध्यक्ष भिष्म मिश्रको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा आर्थिक समितिकी संयोजक गौरीमाया चिमरिया, शाखा प्रमुख बेडारीलगायतले आफ्ना भनाइ राखेका थिए ।

 

उनीहरुले आफ्नो खेतबारीमा लगाइएका बालीनालीका विषयमा कृषि शाखाको परामर्शअनुसार खेती गर्न सुझाव दिएका थिए । बाली लगाउने समयमा आवश्यक तयारी गर्नसके कृषकले क्षति व्यहोर्न नपर्ने भन्दै उनीहरुले कृषकको श्रम खेर जान नदिन र आर्थिक क्षति रोक्न कृषि शाखा तयार रहेको सुनाए ।