ताप्लेजुङ। प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको आठ करोड रुपैयाँभन्दा बढी भेटी रकम मौज्दात रहेको छ। पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म भेटी सङ्कलन भएको हो ।

 

समितिले मङ्गलबार पत्रकारसँग अन्तरक्रिया गर्दै हालसम्म कुल आठ करोड १३ लाख ७९ हजार ३६३ रुपैयाँ भेटी रकम मौज्दात रहेको जानकारी दिएको छ।

 

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार विभिन्न संरचना निर्माण तथा भौतिक पूर्वाधार योजनामा भएको खर्च, कर्मचारी पारिश्रमिक र अन्य खर्च कटाएर भेटीबापत सङ्कलन भएको उक्त रकम समितिसँग मौज्दात रहेको हो।

 

गत आर्थिक वर्ष २०८०/८१ मा सङ्कलन भएको भेटी रकम र विगतदेखिको बैङ्क मौज्दात तथा मौज्दात रकमको व्याजसमेत असार मसान्तसम्ममा भेटीबापत कुल १२ करोड ८० लाख ९९ हजार २५१ रुपियाँ सङ्कलन भएको छ।

 

सङ्कलित उक्त रकममध्ये गत आवमा चार करोड ६७ लाख १९ हजार ८८७ रुपैयाँ खर्च भएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए। उनका अनुसार सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकम समितिसँग मौज्दात रहेको छ।