झापा । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्यबराबरको काठबाट निर्मित सामग्री भारततर्फ निर्यात भएको छ । सो मूल्यबराबरको ९९ हजार ८०१ मेट्रिक टन काठका सामान भारत निर्यात भएको हो ।
पूर्वी पहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई प्रशोधन गरेर प्लाइउड बनाउने गरिन्छ ।
सोही अवधिमा २४ करोड १९ लाख ३४ हजार रुपैयाँ मूल्यबराबरको २१ हजार ९९४ मेट्रिक टन भेनियर उड भारत निर्यात भएको थियो । दुई अर्ब ७१ करोड ९९ लाख २० हजार मूल्यबराबरको ७७ हजार ७१२ मेट्रिक टन प्लाइउड निर्यात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवले जानकारी दिए ।
यस्तै, चार लाख ५९ हजार मूल्यबराबरको ९२ मेट्रिक टन प्लाइउड उत्पादन गर्ने क्रममा निस्कने काठको धुलोसमेत र १८ लाख ८२ हजार रुपैयाँ मूल्यबराबरको तीन मेट्रिक टन काठबाट बनेका हस्तकलाका सामग्री भारत निर्यात गरिएको उनले जानकारी दिए ।
मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईंले भारतीय मुद्रा आर्जन गर्न र व्यापार घाटा न्यूनीकरण गर्न प्लाइ उडलगायत काठजन्य उत्पादनको निर्यातले ठूलो योगदान पु¥याएको बताए । केही वर्षयता प्लाइउडको व्यापारमा उतारचढाव आइरहे पनि कच्चा पदार्थको सङ्कलन र निर्यातमा अवरोध नभएको उनको भनाइ छ ।
झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट सङ्कलन गरिएका काठबाट बनेका प्लाइ उडलगायत काठजन्य उत्पादन पूर्वी नाका काँकडभिट्टा र तराईका अन्य नाकाबाट समेत भारततर्फ निर्यात भइरहेका छन् ।