इनरुवा । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाबाट ११५.७ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नम्बर ४ गण हेडक्वाटर सुनसरीको टोलीले चेकजाँचको क्रममा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

 

विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीले बबिया चोकमा प्रदेश १-०२-००२ च ६८८३ नम्बरको टाटा सफारी गाडी चेकजाँच गरेको थियो । सो क्रममा गाडीमा लुकाइएको उक्त परिमाणको गाजा फेला परेको हो ।

 

गाँजासँगै गाडीमा सवार धनकुटा साँघुरीगढीका ३२ वर्षीय रामकुमार राई र सोही स्थानका २२ वर्षीय बुद्ध लिम्बूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ४ गणले जनाएको छ ।

 

भारतीय सीमातर्फ लैजाने क्रममा बरामद गाँजासहित ओसारपसारमा प्रयोग गरिएको गाडी र नियन्त्रणमा लिइएका व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको छ ।