झापा । बिर्तामोड ५ स्थित मःम फ्याक्ट्रीका सञ्चालक तथा सञ्चारकर्मी टीकाराम नेतिले प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नी श्रीमतीको नाममा रहेको खाताबाट १ करोड १७ लाख रुपैयाँ गायब गरिएको बताएका छन् ।
बिर्तामोड ७ निवासी पत्रकार नेतिले आफ्नी श्रीमती मन्जु कुमारी नेपालकाे खाता नम्बर ०१२०२२७२६०७०००१२ मा पटक-पटक फरक-फरक मितिमा प्रभु बैंकको बिर्तामोड शाखामा १ करोड १९ लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरेको बताउँदै अहिले खातामा २ लाखमात्र जम्मा देखिएको पत्रकार सम्मेलन गरी जानकारी दिएका x’न् ।
बैंकका मार्केटिङ म्यानेजर चन्द्रगढी निवासी प्रमोद सिटौलाले जम्मा गरेको रकम नियतवश हिनामिना गरेकाे नेतिकाे भनाइ छ । अहिले सम्पर्क बाहिर रहेका सिटाैलाले आफ्नो दुईवटै मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन बनेको नेतिले बताए ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको नेतिले जानकारी दिए । त्यसबारे बैंकका प्रबन्धक गणेशबहादुर बरालसँग बुझ्दा नेतीले ब्यक्तिगत उजुरी हालेको बताउँदै बैंकले पनि केन्द्रमा छानबिन समिति बनाएको जानकारी दिएका छन् ।
पत्रकार नेति र बैंकका मार्केटिङ म्यानेजर सिटौलाबीच पहिलादेखि नै ब्यक्तिगत सम्बन्ध रहेको बताइएकाे छ । गायब गरिएको उक्त रकम फिर्ता गरिदिन ब्यक्तिगतरुपमा समेत कुराकानी भएको नेतिले बताए ।
तर, नेतिको मःम फ्याक्ट्रीमा हिजो दुवैबीच कुराकानी भए पनि केहीछिनमा आउँछु भन्दै आफ्नो ब्याग त्यही छाडी सिटौला फरार भएको नेतिले बताएका छन् ।