शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा राष्ट्रियस्तरको सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना गर्नका लागि जग्गा खोजी गरिएको छ ।

 

अर्जुनधारा नगर क्षेत्रमा सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापनाका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पहल गरेसँगै आवश्यक पूर्वाधार निर्माणका गर्न जग्गाको खोजी शुरु गरिएको हो ।

 

नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का निर्देशक भानुभक्त पोख्रेल, अर्जुनधाराका नगर प्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल लगायतको टोलीले नगरका विभिन्न स्थानमा जग्गा खोजी गरेको छ ।

 

सरकारी खाली जग्गा खोजी गर्ने क्रममा अर्जुनधारा ५ मा करिब १० बिघा खोला उकास जग्गा फेला परेको नगरप्रमुख गोम्देनले बताए । ‘नगरपालिकाले नीति तथा कार्यक्रममै सुपारी कृषकलाई प्रविधिमैत्री बनाउने योजना लिएको छ’, उनले भने, “नगदेबालीको रुपमा रहेको सुपारी खेतीको प्रबद्र्धन गर्न पनि अध्ययन केन्द्र र प्रशोधन केन्द्र स्थपानाका लागि पहल थालिएको हो ।”

 

हाल फेला परेको जग्गामा कृषि विज्ञहरुको टोलीले पुनः अध्ययन गर्ने र उपयुक्त भएपछि मात्र थप कामकारबाही अघि बढाइने नगरपालिकाका प्रेस संयोजक नन्दलाल खतिवडा (नन्दु)ले जानकारी दिए ।

 

अनुसन्धान केन्द्रमार्फत् सुपारीका २० प्रजातिका बिरुवा उत्पादन गर्ने र माटो तथा हावापानीको आधारमा उपयुक्त जात कृषकलाई वितरण गर्ने योजनाअनुरुप उपयुक्त जग्गा खोजी भएको उनले बताएका छन् ।

 

झापाको अर्जुनधारा, बुद्धशान्तिमा बढी मात्रामा सुपारी खेती हुँदै आएको छ । झापामा तीन हजार हेक्टरमा सुपारी खेती गरिएको छ भने वार्षिक १० हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए ।