शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा भएका विभिन्न खोलाबाट नदीजन्य सामग्री संकलन तथा उत्खनन् गर्नका लागि स्थानीय सरोकारवालसँग छलफल गरी सार्वजनिक सुनुवाइ गरेको छ ।

 

यस आर्थिक वर्षका लागि नदीजन्य सामग्री व्यवस्थापन गर्न भूगोलका हिसाबल तीन स्थानमा सार्वजनिक सुनुवाई आयोजना गरेको हो । वडा नम्बर १ को कार्यालय, ३ नम्बर वडा कार्यालय र ४ को विन्दावासिनी मन्दिरमा सार्वजनिक सुनुवाई गरिएको हो ।

 

आर्थिक वर्ष २०८१/०८२ का लागि बिरिङ, टाङटिङ, गोयाङ, ठ्लो नेते, सानो नेते र सुखानी खोला तथा त्यसमा मिसिने साना खोलाहरुबाट नदीजन्य सामग्री संकलन, व्यवस्थापन र बिक्री गर्न सकिने प्रारम्भिक वातावरणीय परीक्षण (आईईई)को प्रतिवेदनमा उल्लेख छ ।

 

कार्यक्रममा नगरपालिका क्षेत्रमा रहेको खोलानाला मध्ये १९ स्थानबाट करिब ३ लाख ३ हजार ५७५ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न सकिने परामर्शदाता कम्पनी भोलानाथ इन्जिनियरिङ डिजाइनर्स कन्सलटेन्सी बिर्तामोडले सुझाव दिएको छ ।

 

छिमेकी पालिका बुद्धशान्तिसँगको सहकार्यमा १ करोड ४३ लाख ३७ हजार ७६८ रकम बराबरको नदीजन्य सामग्री उत्खनन गर्न परामर्शदाता कम्पनीले सुझाएको छ । यसैगरी अर्जुनधाराले ५ करोड ९९ लाख ८३ हजार ७६१ रकम बराबरको सामग्री उत्खनन गर्ने छ ।

 

यसपटक विरिङ, टाङटिङ, सुखानी र ठुलो नेते खोलामा छुट्टाछुट्टै प्याकेज बनाएर ७ करोड ४३ लाख २१ हजार ५२९ रूपैयाँमा ठेक्का लगाउने तयारी गरिएको प्रतिवेदनमा उल्लेख छ।

 

जसका लागि विरिङ खोलामा २ वटा प्याकेज र टाङटिङ, सुखानी र ठुलो नेतेतर्फ तीन वटा प्याकेज तयार गरिएको छ । यसभित्र पनि ब्लक छुट्याएर काम गर्न सकिने बताइएको छ । यसपटक ३ लाख ३ हजार घनमिटर नदीजन्य सामग्री उत्खनन गर्न मिल्ने प्रतिवेदनमा उल्लेख छ ।

 

सार्वजनिक सुनुवाईमा स्थानीयबासीको जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख बलदेवसिंह गोम्देनले ठेकेदारले मापदण्डभन्दा बढी उत्खनन गरेको पाइए पाँच गुणाभन्दा बढी जरिवाना गरिने शर्त राखिएको जानकारी दिए ।

 

उनले खोलानालामा बालुवा उत्खनन गरेर जीविकोपार्जन गर्ने मजदुरले पनि नगरपालिकाले अघि सारेको मापदण्ड पालना नगरे कारवाही गरिने बताए । बिरिङ खोलामा मजदुरले समेत अत्याधिक गहिरो खाल्डा बनाएर सामग्री उत्खनन गर्दै आएका छन् ।

 

‘खोलाबाट उठेको राजश्व खोलामै खर्चिने योजना छ’, गोम्देनले, ‘कपर ड्याम निर्माण कार्यलाई यस पटक प्राथमिकतामा राखिएको छ ।’ गतवर्ष खोला ठेक्का लगाउन ढिलाई हुँदा अवैध रुपमा उत्खनन गरिएको पाइएकाले यस पटक बेलैमा खोला ठेक्का लगाइने उनले बताए ।

 

कार्यक्रममा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली, योजना अधिकृत हिमराज सेढाईं, भुगर्भविद् यदुनाथ तिम्सिना, वातावरणविद्, जनप्रतिनिधि, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो । स्थानीयबासीले नदीजन्य सामग्रीको उत्खनन र बिक्रीबाट प्राप्त हुने राजश्व सोही स्थानको बिकास निर्माणमा खर्च गर्न सुझाव दिएका थिए ।

 

स्थानीयको सुझाव संकलन गरेको नगरपालिकाले नदीजन्य सामग्रीको उत्खननका लागि ठेक्का लगाउने तयारी गरेको छ । विगत वर्षहरुमा नदीजन्य सामग्रीको ठेक्का नलाग्दा करोडौं राजश्व गुम्ने गरेको थियो ।