झापा । नेपालबाट भारततर्फ तस्करी हुन लागेको चाइनिज लाइटर प्रहरीले फेरि बरामद गरेको छ । यसअघि पनि लाखौँ मूल्यबराबरको तस्करी गर्दै गरेको अवस्थामा बरामद भएको थियो ।

 

आइतबार राति ११ः३० बजे अन्दाजी १ लाख ९० हजार मूल्य बराबरको चाइनिज लाइटर इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले मेचीनगर ६ पिङ्कीठ्याकमा बरामद गरेको हो ।

 

नेपालबाट भारततर्फ अवैधरुपमा भन्सार छली लुकाइछिपाई लाँदै गरेको १९ काटुन चाइनिज लाइटर बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

यसैगरी, राति ९ः३० बजे प्रहरी टोलीले मेचीनगर ६ कै भन्सार गेट अगाडि भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको अन्दाजी १ लाख ५१ हजार ९८० रुपैयाँबराबरको किराना सामान तथा कपडा बरामद गरेको छ । उक्त सामान पनि भन्सार दाखिला गर्ने तयारी भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।