शनिश्चरे । झापाको बिर्तामोड ४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्था चालु आव ०८१/०८२ मा करिब ५ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।

 

संस्थाको १२औं वार्षिक साधारणसभाको सन्दर्भमा आज अर्जुनधारामा आयोजित इकाइगत साधारणसभामा अध्यक्ष सुव्रत न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा ४ करोड ९६ लाख ४६ हजार ७७६ रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको उल्लेख छ ।

 

संस्थाले गत आर्थिक वर्ष ०८०/०८१मा तीन करोड ९८ लाख ३० हजार ३८२ रुपैयाँ ३२ पैसा जम्मा आम्दानी गरेको थियो । संस्थाको गत आर्थिक वर्षको नाफा १५ लाख ५७ हजार छ सय ६६ रुपैयाँ २१ पैसा रहेको छ ।

 

प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी तीन करोड ५५ लाख १० हजार ३ सय, कोष हिसाबमा दुई करोड २० लाख १ हजार ६९, संस्थाको शेयर लगानी ३४ लाख १९ हजार २ सय, ऋण लगानी १८ करोड २० लाख ५ हजार ९८३, बचत संकलन १८ करोड ५१ लाख ४१ हजार ४ सय रुपैयाँ र संस्थागत ऋण ६३ लाख २५ हजार ९३२ रुपैयाँ उल्लेख गरिएको छ ।

 

गत असोज ९ गते धुलाबारी सेवाकेन्द्रबाट शुरु भएको इकाइगत साधारणसभाअन्तर्गत आज शनिश्चरे सेवाकेन्द्रमा भएको हो । सञ्चालक समितिका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको सभाको उद्घाटन सल्लाहकार समितिकी संयोजक सावित्राकुमारी लिम्बूले गरेकी थिइन् ।

 

सभामा अध्यक्ष न्यौपानेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

सोही सभामा शनिश्चरे सेवाकेन्द्रको उत्कृष्ट बचतकर्ताअन्तर्गत नियमित बचततर्फ सुनिता अधिकारी, शिक्षा बचततर्फ कुशल तिवारी र असल ऋणी उमा कार्कीलाई सम्मान पत्रसहित नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । समितिकी सदस्य चीजा राईले स्वागत गरेको उक्त सभाको सञ्चालन सचिव सूर्यकुमार खतिवडाले गरेका थिए ।

 

त्यस्तै, सभाले यही असोज १६ गते झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा हुने साधारणसभाको अन्तिम माइन्युट प्रमाणिकरण कार्यक्रमका लागि १३ जना प्रतिनिधि छनौट गरेको संस्थाका व्यवस्थापक तीर्थ तिम्सिनाले जानकारी दिए ।