काठमाडौँ । दसैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार २४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी, महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् ।

 

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर ३०१ उडानमार्फत १७ हजार ३२९ र असोज २५ गते २७८ उडानबाट १४ हजार ४३६ गरी कुल ३१ हजार ७६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन् ।

 

यस्तै, अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी १०७ उडानमार्फत १६ हजार ५०९ र असोज २५ गते पनि १०७ उडान हुँदा १४ हजार ९६८ गरी कुल ३१ हजार ४७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो ।

 

यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार ७०४ जनाले हवाईयात्रा गरेका छन् । यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्धहुँदा हवाई उडानमा चाप भएको थियो ।

 

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो । इकान्तिपुरबाट