झापा । झापास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) बाहुनडाँगीले चाँदीबाट निर्मित १०८ थान मूर्ति बरामद गरेको छ ।
आज बिहान मेचीनगर ४ बाहुनडाँगीस्थित मिलन टुंग नजिक रहेको दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले चाँदीबाट बनेको विभिन्न देवी देवताको मूर्ति बरामद गरेको हो । उक्त मूर्तिहरुको तौल डेढ केजीभन्दा बढी रहेको जनाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटरका अनुसार आज बिहान ४ः५० बजे बिओपी इन्चार्ज प्रहरी निरीक्षक दिपेन्द्रमणि राईको कमाण्डमा खटिएको पैदल गस्तीले उक्त मूर्ति बरामद गरेको हो ।
सशस्त्र प्रहरीको टोलीलाई देखेर सीमा क्षेत्रबाट पैठारी गर्दै गरेका व्यक्तिहरु फरार भएका थिए । भारतबाट नेपालतर्फ झोलामा बोकेर ल्याउदै गरेको करिब ३ लाखबराबरको १ केजी ६९८ ग्राम चाँदीको मूर्ति बरामद भएको सशस्त्र प्रहरी बल २ नम्बर गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक महेश विष्टले जानकारी दिए ।
उनका अनुसार बरामद सामग्री बिओपी बाहुनडाँगीमा ल्याएर राखिएको छ भने सोमबार थप कार्बाहीका लागि मेची भन्सार कार्यलय काँकडभिट्टा बुझाउने तयारी भइरहेको सप्रनाउ विष्टले जानकारी दिएका छन् ।