दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापाको दमक नगरपालिका ३ मा निर्मित १८ तले भ्यू टावरको उद्घाटन गरेका छन् । यो टावर ओलीकै निर्वाचन क्षेत्रमा पर्ने दमकमा निर्माण गरिएको हो ।

 

२०७६ सालमा ओलीले दोस्रो कार्यकालका क्रममा यस टावरको शिलान्यास गरेका थिए । तेस्रो कार्यकालको प्रधानमन्त्री भएकै समयमा उनले देशकै अग्लो भनिएको यो टावरको उद्घाटन गरेका हुन् ।

 

‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको यो भव्य संरचना निर्माण गर्न १ अर्ब ५६ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । शहरी विकास मन्त्रालयको नेतृत्वमा निर्माण सम्पन्न गरिएको टावरलाई सञ्चालनका लागि निजी कम्पनीहरूसँग सहकार्य गरिने बताइएको छ ।

 

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार टावरको व्यवस्थापनका लागि केही प्रवेश शुल्क राखिनेछ भने सञ्चालनका लागि कम्पनीलाई लिजमा ठेक्का दिन सकिने योजना छ ।

 

यो टावर चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । यसबाहेक, सरकारले यस टावरको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसमेत गरेको छ ।