शनिश्चरे । झापाको अर्जुनधारा ८ स्थित शिवालय मन्दिरको सभाहलमा बुधबार सम्पन्न सहनशील महिला बचत तथा ऋण सहकारी संस्थाको १५र्औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिको अध्यक्षमा पुनः ज्ञानकुमारी थापा चयन भएकी छिन् ।
चार वर्षे कार्यकालका लागि अध्यक्ष थापासँगै सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएका हुन् । नवगठित समितिको उपाध्यक्षमा सविता लिम्बू, सचिवमा पूर्णिमा सिटौला, सहसचिवमा चन्द्रकला प्रसाईं र कोषाध्यक्षमा भद्र गिरी चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा जोबा राजवंशी, डम्बरकुमारी सत्याल, बीना ताम्राकार र शान्तिकला तामाङ सर्वसम्मत चयन भएको संस्थाकी व्यवस्थापक पम्फादेवी विश्वकर्माले जानकारी दिइन् ।
त्यस्तै साधारणसभाबाट पुनः कल्पना विश्वकर्माको संयोजकत्वमा निशा विक र विधाता लामिछाने सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन भएको बताइएको छ ।
समितिकी अध्यक्ष थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व सहकारी अधिकृत डिल्ली दाहालले उद्घाटन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष थापाले गत आर्थिक वर्ष ०८०/०८१को सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन, संयोजक विश्वकर्माले लेखा समितिको प्रतिवेदन र व्यवस्थापक विश्वकर्माले गत आर्थिक वर्षको प्रगति तथा चालु आर्थिक वर्ष ०८१/०८२को बजेट, भावी नीति तथा कार्यक्रम उल्लेख भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ९६ लाख ९२ हजार एक सय रुपैयाँ, निक्षेप बचत दुई करोड १० लाख ८४ हजार १२६ रुपैयाँ दुई पैसा, कर्जा लगानी तीन करोड ८५ लाख एक हजार ४० रुपैयाँ, जगेडा कोषमा ५९ लाख २९ हजार २७१ रुपैयाँ ५४ पैसा, अन्य कोषमा ११ लाख ३८ हजार ७२० रुपैयाँ आठ पैसा, जोखिम कोषमा १९ लाख २५ हजार ५२ रुपैयाँ उल्लेख गरिएको छ ।
सोही कार्यक्रममा उत्कृष्ट बाल बचततर्फ इभाना दाहाल, उत्कृष्ट ऐच्छिक बचततर्फ शान्ति विश्वकर्मा, उत्कृष्ट मासिक बचततर्फ प्रदीप खड्का, उत्कृष्ट व्यवसायी भक्तबहादुर बानियाँ, गत शैक्षिक वर्ष अन्तर्गत कक्षा ११ र कक्षा १०को परीक्षामा उत्कृष्ट जीपीए ल्याउन सफल क्रमशः समिर राजवंशी र ममता अधिकारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघ लेखा समितिका सदस्य प्रेमसागर सापकोटा, अर्जुनधारा नगर सहकारी समन्वय समितिका अध्यक्ष कृष्णप्रसाद चापागाईं, कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी उपाध्यक्ष हीमा विष्ट, सल्लाहकारद्वय बद्रीप्रसाद ओली र मिश्रकुमारी राईले शुभकामना मन्तव्य राखेका थिए । समितिकी उपाध्यक्ष लिम्बूले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक विश्वकर्माले गरेकी थिइन् ।