बिर्तामोड । युवाहरुको रोजाइमा परेको केटिएम सिटीको नयाँ शोरुम बिर्तामोडमा आजदेखि सञ्चालनमा आएको छ । यसअघि दमकसम्म पुगेर आफूले चाहेको पोशाक सामग्री खरिद गर्नुपर्ने बाध्यता थियो ।

 

नेपालमा उत्पादन गरी विभिन्न स्थानमा शोरुम स्थापना गरेर कपडा बिक्री गर्दै आएको केटिएमले पूर्वको व्यापारिक केन्द्र बिर्तामोडमा शोरुम सञ्चालनमा ल्याएको हो । केटिएम सिटीले नेपाल र भारतमा खेलकुदका पोशाक तथा सामग्री बिक्री गर्दै आएको छ ।

युवा व्यवसायी मनोज सिटौला र विशाल भण्डारीको २ करोडको लगानीमा शोरुम सञ्चालनमा आएको बताइएको छ । मोजादेखि टोपीसम्मु नारासहित सबै प्रकारका सामग्री उपलब्ध गराउँदै आएको कम्पनीले १९० देखि २ हजार ३९० रुपैयाँसम्मका उत्पादन बजारमा ल्याएको छ ।

 

शनिश्चरेरोडमा रहेको शोरुमको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले एक समारोहका बीच आज उद्घाटन गरे । शोरुम उद्घाटनको अवसरमा १० प्रतिशत छुट र एउटा आकर्षक टि-सर्ट उपलब्ध गराउने सिटौलाले जानकारी दिएका छन् ।

 

भारतमा समेत केटिएमले सेवा बिस्तार गरेको छ । भारतको दार्जिलिङ, सिक्किम, कालिम्पोङ र देहरादुनको मसुरीमा केटिएमको क्याजुएल र स्पोर्टस सामग्री उपलब्ध हुने उनले बताए । भारतीय ग्राहकलेसमेत कम्पनीको उत्पादन रुचाएको शोरुमका अर्का सञ्चालक बिशाल भण्डारीले जानकारी दिए ।

 

कोशी प्रदेशका लागि झापाको गौरीगञ्जमा उद्योग स्थापना गरेर उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । गौरीगञ्जबाट एथिको ब्राण्डको रनिङ सुज उत्पादन भइरहेको छ । निकट भविष्यमा सबै प्रकारका सामग्री उत्पादन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

 

सुलभ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएको केटिएमको काठमाण्डौ उपत्यकामा १४ वटा शोरुम सञ्चालनमा छन् भने उपत्यका बाहिर चितवन, बिर्तामोड, दमक, सोलुखुम्बु र पोखरामा शोरुम सञ्चालनमा रहेका छन् ।