ताप्लेजुङ। ताप्लेजुङको प्रमुख नगदेबाली अलैँचीको मूल्य शुक्रबार प्रतिमन (४० किलोग्राम) दुई हजार रुपैयाँ बढेर कारोबार भएको छ।
पछिल्लो केही सातासम्म स्थिर रहेको अलैँचीको मूल्य शुक्रबार बढेको स्थानीय व्यवसायीले बताए । सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको मूल्य बढेर प्रतिमन एक लाख नौ हजार रुपैयाँसम्म कारोबार भएको हो ।
स्थानीय व्यवसायी कमल बरालका अनुसार शुक्रबार गुणस्तरीय अर्थात डम्बरसाई (भर्लाङ) प्रजातिको अलैँची प्रतिमन एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो ।
उनका अनुसार गोलसाई प्रजातिको अलैँची प्रतिमन एक लाख सात हजार, चलनचल्तीको अर्थात रामसाई, चिवेसाईजस्ता प्रजातिको अलैँची भने मनको एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको छ । व्यवसायीका अनुसार बिहीबारसम्म चलनचल्तीको अलैँची प्रतिमन एक लाख तीन हजार रुपैयाँसम्म कारोबार हुँदै आएको थियो।
यसैबीच, अब अलैँचीको मूल्य अझ बढ्नसक्ने स्थानीय व्यवसायीले अनुमान गरेका छन्। भदौ पहिलो सातादेखि बजारमा निस्कन थालेको अलैँची हालसम्म उत्पादनको आधाभन्दा बढी हिस्सा बिक्री भइसकेको पनि व्यवसायीको भनाइ छ।
यता लामो समयपछि यो अलैँचीको मूल्य बढे पनि उत्पादन भने घटेको छ। कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यसवर्ष जिल्लामा दुई हजार ५३१ मेट्रिकटनमात्र अलैँची उत्पादन भएको छ।
गतवर्ष दुई हजार ५४१ मेट्रिकटन अलैँची उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार ताप्लेजुङमा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ।