झापा । झापाको काँकरभिट्टाबाट एक लाख नक्कली नोटसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका ६ ओयाक्जुङका गणेश भारती रहेका छन् ।

 

गएराति ९ बजे मेचीनगर ६ स्थित काँकरभिट्टामा रहेको नेपाल बैंक अगाडिबाट २८ वर्षीय भारतीलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो । शंकास्पद अवस्थामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले भारतीलाई खानतलासी लिएको थियो ।

 

प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट नेपाली दर नोट १ हजारको जस्तो देखिने बुङलाई रवरले बाँधेको अवस्थामा फेला परेको थियो । विभिन्न संकेत नम्बरका हजार हजारका १ सय थान नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।