झापा । भन्सार छली लुकाइछिपाई ल्याउँदै गरेको चिनीसहित पिकअप र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

बिहीबार दिउँसो ३ः४० बजे बिर्तामोड ५ स्थित सुब्बा चौकमा मे. १ च ६२८४ नम्बरको पिकअपमा भन्सार छली सामान ल्याएको भनी गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले ५० केजीको दरले २५ बोरा चिनी बरामद गरेको थियो ।

 

अन्दाजी १ लाख २५ हजार मूल्यबराबरको चिनी र १२ लाख मूल्यबराबरको पिकअप बरामद गरी सामान धनी कन्काई ८ बस्ने ३२ वर्षीय नारायण सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सामानसहित सिटौलालाई इप्रका बिर्तामोडमा ल्याई राखेको र भन्सार कार्यालय बुझाउन आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।