पशुपतिनगर । इलामको सूर्योदय नगरपालिका २ चारमाइलबाट सुन र चाँदीको जलप लगाइएका नक्कली गरगहनासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन् ।

 

सशस्त्र प्रहरीको टोलीले आइतबार ३२ लाख ६९ हजार ५५७ रुपैयाँबराबर सुन र चाँदीको जलप लगाइएको नक्कली गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

 

पक्राउ पर्नेहरू भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनाष बोध र ३५ वर्षीय रवि कुमार रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा टोलीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।

 

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्दा झोलाबाट १७ किलो ४०० ग्राम चाँदी र ५ किलो सुनको जलप लगाइएका गहना र विभिन्न किसिमका सामान फेला परेको थियो । परीक्षणका क्रममा ती गहनामा सुनचाँदीको जलप लगाएको पुष्टि भएको थियो ।