झापा । पर्याप्त वर्षा नहुँदा असार १५ लागिसक्दा समेत झापामा धुमधामले धान रोपाइँ हुन सकेको छैन । विगतको तुलनामा यस वर्ष निकै कम मात्रामा रोपाइँ भएको हो ।
गतवर्ष असार १५ सम्म झापामा १२ प्रतिशतसम्म रोपाइँ भइसकेको थियो । तर, यसवर्ष मुश्किलले ८ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए । उनले पर्याप्त वर्षा नहुँदा किसानहरुले धुमधामले खेती गर्न नपाएको र मोटर हुने किसानहरुले मात्र सामान्यरुपमा रोपाइँ गरेको जानकारी दिए ।
एक लाख ६० हजार छ सय हेक्टर क्षेत्रफलमा फैलिएको झापामा खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ५५९.१८ हेक्टरमा धान खेती हुने गरेको सूचना अधिकारी भण्डारीले जानकारी दिएका छन् ।
झापामा ५० दशमलव ५३ प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ भने बाँकीमा आकाशे पानीको भरमा खेती हुँदै आएको छ । यसैबीच, आज असार १५ झापामा पनि विविध कार्यक्रम गरी धान दिवस मनाइँदैछ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।