पाँचथर । असोज १८ गतेदेखि अवरुद्व तमोर करिडोर सञ्चालनमा आएको छ । तमोर करिडोर आयोजनासँगै यस क्षेत्रका सरोकारवालाको निरन्तर मिहिनेतपछि यो सडक बिहीबार साँझदेखि सञ्चालनमा आएको हो ।
सबैभन्दा धेरै अवरोध रहेको पाँचथर सिमावर्ती नावा खोलामा थुप्रिएका ठुल्ठूला ढुंगा पन्छाएर डोरो पहिल्याउने काम सकिएसँगै यो सडकमा सवारी र ढुवानी साधन वारपार भएका हुन् ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले नावा खोला अवरोध पन्छाइएपछि पाँचथर खण्डमा रोकिएका साधन धनकुटातर्फ तरेर धरानतर्फ लागेका छन् । यस्तै धनकुटातर्फ रोकिएका सवारी र यात्रु पनि पाँचथर तर्न थालेको उनले बताए ।
अवरुद्व तमोर करिडोर खुलाउन तीनदिनदेखि काम भइरहेको थियो । धनकुटा र पाँचथरतर्फका साना(ठुला पहिरो पन्छाउँदै नावा खोलामा भेट भएका ३ वटा एक्स्काभेटरले बिहीबार बिहानैदेखि काम गरेको तमोर करिडोर आयोजनाले जनाएको छ ।
असोज १७ र १८ गतेको वर्षापछि नावा खोलामा आएको बाढी तथा छरुवा खोलादेखि यासोक क्षेत्रसम्म विभिन्न स्थानमा गएको पहिरो र ढिस्काका कारण यो सडक अवरुद्ध थियो । तमोर करिडोरको अवरोध हटाइएसँगै ताप्लेजुङ र पाँचथरतर्फ रोकिएका सवारी र इन्धन बाहक गाडी गन्तव्यतर्फ प्रस्थान गरेका छन् । इकान्तिपुरबाट