एकतप्पा (इलाम) । फाल्गुनन्द-पितामरुङ-डिएक्सएन क्लब फाकफोकथुम ७ दोकान डाँडास्थित जनकल्याण माविको खेलमैदानमा जारी एकतप्पा गोल्डकप २०८२ को फाइनलमा प्रवेश गरेको छ ।

 

आज भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली पाँचथरको नाम्तोक एफसीविरुद्ध २-० गोल गर्दै फाल्गुनन्द-पितामरुङ-डिएक्सएन फाइनलमा प्रवेश गरेको हो ।

 

फाल्गुनन्द-पितामरुङ-डिएक्सएनका लागि दुवै गोल निमा तामाङले गरेका हुन् । पहिलो हाफको २४औँ मिनेटमा पहिलो गोल गरेका निमाले दोस्रो हाफको १ मिनेटमा व्यक्तिगत दोेस्रो गोल गरेर टिमलाई फाइनल पुर्याएका हुन् ।

 

फाल्गुनन्द-पितामरुङ-डिएक्सएनका निमा प्लेयर अफ दी म्याच बने । उनले नगद एक हजार दुई सयसहित मेडल प्राप्त गरे । फाल्गुनन्द-पितामरुङ-डिएक्सएनको जितसँगै कम्तिमा ६६ हजार सुरक्षित गरेको छ । भोलि (सोमबार) स्थानीय चौबन्दी एफसीले हाङमाचुली एफसीसँग अन्तिम सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

 

क्रिएटिभ सोसिएल स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल कात्तिक ४ गते हुनेछ । विजेताले १ लाख २६ हजार ८९ रुपैयाँ पाउँदा उपविजेताले नगद ६६ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

 

यसैगरी, सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले नगद २ हजार २ सय र ट्रफी पाउने आयोजकले जनाएको छ ।