खुदुनाबारी (झापा) । झापा भद्रपुरको ब्रदर्स युनाइटेड एफसी अर्जुनधारा २ स्थित खुदुनाबारीमा आयोजित एसवाइएस फुटबलको च्याम्पियन बनेको छ ।
स्थानीय वडा खेलमैदानमा सोमबार सम्पन्न फाइनलमा खुदुनाबारी एफसी अर्जुनधारालाई २–१ गोल अन्तरले पराजित गर्दै भद्रपुरले उपाधि जितेको हो ।
भद्रपुरको जितका लागि खेलको २९औं शक्ति राई र ५१औं मिनेटमा रोमन भूजेलले गोल गरेका हुन् । खुदुनाबारीका लागि खेलको २५औं मिनेटमा राजेश दाहालले गोल गरेका थिए ।
प्रतियोगिताको विजेता टिम भद्रपुरले नगद ५० हजारसहित ट्रफी पाएको छ । यस्तै, र उपविजेता हुने खुदुनाबारीले ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

विजेताको नगद पुरस्कार अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन तामाङ र उपविजेताको नगद पुरस्कार स्थानीय शान्ति सामुदायिक वन उपभोक्ता समूहले सौजन्य गरेका थिए ।
त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी राजेश दाहाल (खुदुनाबारी), फाइनल खेलको प्लेयर अफ दी म्याच शक्ति राई (ब्रदर्स युनाईटेड), उत्कृष्ट गोलरक्षक अमस टुडु (ब्रदर्स युनाईटेड), उत्कृष्ट रक्षक अभिषेक गुरुङ (खुदुनाबारी), सर्वाधिक गोलकर्ता सरोज कार्की (ब्रदर्स युनाइटेड) र उदीयमान खेलाडी (आयोजक) घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद तीन हजार पाँच सय र अन्य विधाका उत्कृष्ट हुने खेलाडीहरुले जनही नगद दुई हजार पाँच सयसहित ट्रफी प्राप्त गरेका थिए ।

आयोजक सचेत युवा समूहका अध्यक्ष राजा साँवाको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख तामाङको प्रमुख आतिथ्यमा फाइनल खेल भएको थियो ।
यस्तै, कार्यक्रममा खेलमैदानको लागि जमिन प्रदान गर्ने जग्गादाताहरु जंगबहादुर राई, हरिबहादुर श्रेष्ठ (मरणोपरान्त) र हरिनारायण प्याकुरेल, खेलमैदान निर्माणमा विशेष योगदान पु¥याउने स्थानीय इन्द्रबहादुर रम्तेल, खेलमैदानमा निःशुल्क धारा निर्माण गरिदिने दाता टीकामाया राई, अर्जुनधारा नगरपालिका, नगरपालिकाका प्रमुख तामाङ, अर्जुनधारा २ वडा कार्यालय, शान्ति सामुदायिक वन उपभोक्ता समूहलगायतलाई सम्मान गरिएको थियो ।
त्यसैगरी सोही दिन सम्पन्न ब्रदर्स युनाईटेड भेट्रान्स र खुदुनाबारी भेट्रान्सबीच भएको थियो । जसमा खुदुनाबारी २–१ गोलअन्तरले विजयी भयो । जितसँगै खुदुनाबारी भेट्रान्सले नगद १० हजार एक सय प्राप्त गर्यो । समापन कार्यक्रमको सञ्चालन समूहका सचिव शिव भट्टराई र सञ्चारकर्मी रञ्जिता खड्काले संयुक्तरुपमा गरेका थिए ।