बिर्तामोड । पाहुना टोली मलेसियाको एन पेनाङ एफसीलाई रोक्दै मछिन्द्र फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्रले मलेसियासामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।

 

मलेसियालाई २-१ गोलअन्तरले हराएसँगै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पनि पक्का गरेको छ । सुरुवाती अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा भने मलेसियाको दबाब सामना गरेको थियो ।

 

खेलको १९औँ मिनेटमा मछिन्द्रले अग्रता लिएको थियो । डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मछिन्द्रका सनिश श्रेष्ठले गोलमा परिणत गरेका थिए । गोलकिपरको हातबाट फुत्किएको बलले मलेसियाका खेलाडीलाई टच हुँदै गोल भएको थियो ।

 

मछिन्द्रले दोस्रो गोल ८०औँ मिनेटमा लगायो । मछिन्द्रका लागि विदेशी खेलाडी जोनाथन जोरिल्लाले दोस्रो गोल गरेका थिए । मलेसियाका डिफेन्डर मार्टिन डामिलोलेको खुट्टाबाट फुत्किएको बललाई जोरिल्लाले चिप गर्दै गोल गरेका हुन् ।

 

मलेसियाका लागि एकमात्र गोल खेलको ६०औँ मिनेटमा जोन जिडेइनाले गरेका हुन् । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हातबाट फुत्किएको बललाई उनले गोलमा परिणत गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । शुक्रबारको पहिलो सेमिफाइन खेल आयोजक टिम झापा ११ एफसी र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच हुनेछ ।

 

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।