झापा । झापाको भद्रपुरमा पहिलोपटक आयोजित कोशी-पाथीभरा इण्डो- नेपाल टी-२० च्याम्पियनसीप क्रिकेटकाे उपाधि आयोजक भद्रपुर क्रिकेट क्लवले जितेको छ ।

 

बिहीबार भएको फाइनल खेलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लब आसामलाई ४ विकेटले पराजित गर्दै भद्रपुरले उपाधिमा कब्जा जमाएको हो । उपाधिसँगै भद्रपुरले नगद ५ लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आसामले नगद ३ लाख प्राप्त गरेको प्रतियोगिताका संयोजक गौरव सुब्बा (मनोज)ले जानकारी दिए ।

 

टस जितेर भद्रपुरले पहिलो फिल्डिङ रोजेपछि ब्याटिङका लागि मैदानमा उत्रिएको आसामको सुरुआत राम्रो हुन सकेन । दोस्रो ओभरमा ५ रन हुँदा गोकुल शर्मालाई गुमाएको आसाम लगातार विकेट गुमाउँदै १७.३ ओभरमा सबै विकेट गुमाएर ८९ रनमा समेटियो ।

 

आसामका तर्फबाट रोहित सेनले १५ बलमा सर्वाधिक २४ रन बनाए भने कप्तान निबिर डेकाले १५ रन र मो. हबिबुल्लाहले व्यक्तिगत १२ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

 

आसामलाई सस्तैमा समेट्न भद्रपुरका तर्फबाट भुवन कार्की र विपिनकुमार महतोले समान ३ विकेट लिए भने सिद्धार्थ कुमाल, दिपक बोहोरा र दिनेश अधिकारीको खातामा १–१ विकेट पर्यो ।

 

जवाफमा भद्रपुरको पनि ब्याटिङ सुरुआत राम्रो हुन सकेन । दोस्रो ओभरको पहिलो बलमै दिपक बोहोरालाई व्यक्तिगत १ रनमा गुमाएको भद्रपुरको पनि लगातार विकेट झर्दै ३० रन हुँदा ५ विकेट झरिसकेको थियो । त्यसपछि भुवन कार्की र मुहमद आदिल आलमले पारीलाई सम्हाल्दै ७७ रनसम्म पुर्याए ।

 

७७ रनमा आदिलको विकेट पतन भयो । उनले सर्वाधिक ३९ रनको योगदान दिए । अन्त्यमा भुवन कार्की र श्रवण यादवले नटआउट रहँदै टिमलाई जीत दिलाए । बलिङमा आसामका तर्फबाट गोकुल शर्मा र प्राञ्जल भारालीले समान २-२ विकेट लिए भने तपनकुमार शर्मा र अनुप सोनारले १-१ विकेट लिए ।

 

खेलको म्यान अफ द म्याच विजेता टिमका भुवन कार्की भए । उनले नगद ११ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा बेस्ट फिल्डर भद्रपुरका भुवन कार्की, इमर्जिब प्लेयर आसामका निबिर डेका र बेस्ट ब्याटर लखनउका रमन कादयान भए । उनीहरुले नगद २५ हजार पुरस्कार प्राप्त गरे । प्लेयर अफ द टुर्नामेन्ट गोकुल शर्मा भए । उनले ५१ हजार नगद प्राप्त गरेको आयोजक क्लवका महासचिव वसन्त पोखरेलले जानकारी दिए ।