बिर्तामोड । खेलाडीको रिलिज पेपर खोजी कार्यले गर्दा तनावपूर्ण बनेको पहिलो सेमिफाइनल खेलबाट सशस्त्र प्रहरीको एपिएफ एफसी सातौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

 

टाइब्रेकरमा भाग्यमानी सावित हुँदै एपिएफ झापाको डोमालाल राजवंशी रंगशालामा आज भएको झापा ११ फुटबल क्लबसँगको पहिलो क्वाटरफाइनल खेलबाट ४-२ गोलअन्तरले जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

 

एक गोलले पछि परेको अवस्था उल्टाउँदै एपिएफले कमब्याक जित हासिल गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।

 

एपिएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरेका थिए भने प्रदिप लामाको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बुले रोकेका थिए । झापाका तर्फबाट भने रोमन भुजेल र रोहन कार्कीले मात्र गोल गरेका थिए । नारायण क्षेत्री र गौरव धिमालको बल एपिएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए ।

 

खेलको ६१औँ मिनेटमा झापाले अग्रता लियो । नारायण क्षेत्रीको कर्नर प्रहारमा झापाका विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गर्न सफल भए । झापाको अग्रता ६ मिनेट पनि टिक्न सकेन । एपिएफका स्ट्राइकर प्रदिप लामाले ६७औँ मिनेटमा खेललाई बराबरीको अवस्थामा पुर्याएका हुन् ।

 

खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफका गोलकिपर एञ्जल श्रेष्ठ भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । भोलि शनिबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुबटल क्लबबीच हुनेछ ।

 

खेल सुरु हुनुअघि एपिएफका अफिसियलले झापा ११ का रोहन कार्की, रोमन भुजेल, एरोन थापालगायतका खेलाडीको आवद्ध क्लबले दिएको रिलिज पेपर खोजेका कारण खेल करिब १ घण्टा ढिला भएको थियो । खेल ढिला भएपछि दर्शकले आक्रोस पोख्दै फ्लेक्स बोर्ड फ्याँकेका थिए ।

 

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।