शनिश्चरे । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेतालाई स्वास्थ्य र शिक्षा निशूल्क प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
नगर परिसरमा आज आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले खेलाडी (विद्यार्थी)लाई हौसला प्रदान गर्नका लागि स्वास्थ्य र शिक्षामा निशूल्क गर्न लागिएको बताए ।
विद्यार्थीको वृत्ति विकास, शैक्षि गुणस्तर र हितका निम्ति नगरपालिकाले अपनत्व लिने बताउँदै पदक विजेतालाई स्वास्थ्य र शिक्षामा निशूल्क प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएका हुन् ।
भर्खरै गौरादहमा सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अर्जुनधारा नगरपालिका २२ स्वर्णसहित च्याम्पियन बनेको थियो । जसमा ५ वटा रजत र १४ वटा कास्य पदक पनि रहेको छ ।
यसअघि लगातार ३ पटक च्याम्पियन बनेर जिल्लास्तरीय शिल्ड आफ्नो पक्षमा पारिसकेको छ । यससँगै अर्जुनधारा नगरपालिकाको टिम चौथो पटक च्याम्पियन बनेको हो ।
कार्यक्रममा विजेता खेलाडीलाई दोसल्ला ओढाएर बधाई ज्ञापन गरिएको थियो भने च्याम्पियन शिल्ड नगर प्रमुख गोम्देन, उपप्रमुख खड्गमाया पराजुली र वडाध्यक्षहरुलाई हस्तान्तरण गरिएको थियो ।