पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ६ मा अवस्थित मुवा झरनामा साहसिक खेल क्यानोनिङ (डोरीको सहायताले झरना अवतरण गर्ने अभ्यास) परीक्षण अभ्यास सफल भएको छ ।

 

पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको मुवा झरनामा वडा कार्यालयको अगुवाइमा क्यानोनिङको परीक्षण सफल भएको हो । ५२ मिटर लामो झरनामा नेपाली सेनाका पूर्व कर्मचारी एवं सगरमाथा आरोही किशोर जवेगू, गाइडहरु मोहन लिम्बू र गोपाल तामाङले सफल परीक्षण गरेका हुन् ।

 

प्राकृतिक सुन्दरता भएको मुवा झर्नामा अब व्यवसायिकरुपमा क्यानोनिङ सञ्चालन गर्न पूर्वाधार निर्माणतर्फ अघि बढ्ने वडाध्यक्ष अमरवीर राईले बताए । उनका अनुसार साहसिक खेलको व्यावसायिक विकाससँगै पर्यटन प्रवर्द्धन गर्न यहाँ क्यानोनिङको परीक्षण गरिएको हो ।

 

यहाँ आइपुग्न नेपाल र भारतको सिमावर्ती सन्दकपुर र चारराते जस्ता पर्यटकीय क्षेत्रबाट करिब डेढ घण्टा मात्रै लाग्छ । यस्तै, पाँचथर सदरमुकाम फिदिमबाट नाङ्गिन सिदिनहुँदै एक घण्टामै पुग्न सकिने भएकाले साहसिक खेलको पर्याप्त सम्भावना रहेको स्थानीय बताउँछन् । इकान्तिपुरबाट