झापा । घरबाट विद्यालय हिँडेका देवी माध्यमिक विद्यालय बिर्तामोडमा पढ्ने अर्जुनधाराकी दुईजना बालिका बेपत्ता भएका छन् ।
देवी माविमा कक्षा ९ मा पढ्ने अर्जुनधारा ५ का इन्द्रप्रसाद गौतमकी छोरी १५ वर्षीया रञ्जना गौतम र सोही ठाउँ बस्ने विनोद कर्मकारकी छोरी १५ वर्षीया दृष्टि कर्मकार हिजो बिहानदेखि बेपत्ता भएका हुन् ।
उनीहरु विगत दुई वर्षदेखि अर्जुनधारा ५ कञ्चनबारी टोलका हरि सापकोटाको घरमा बसेर पढ्दै आएका थिए । दुवै जनाका बुबाआमा वैदेशिक रोजगारीमा रहेका छन् ।

हिजो बिहान ८ः१५ बजे घरबाट विद्यालय जान्छौ भनी हिँडेकोमा विद्यालयसमेत नगएको र जानसक्ने सम्भावित ठाउँमा खोजी गर्दा फेला नपरेपछि घरधनी सापकोटाले राति इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए । प्रहरीले बालिकाहरुको खोजतलास तथा थप बुझ्ने कार्य भइरहेको जनाएको छ ।