झापा । झापाको अलग अलग स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

आइतबार दिउँसो ३ बजे दमक ५ का २४ वर्षीय मोहन यादवले लागूऔषध बिक्री गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएर खानतलासी गर्दा उनी बसेको कोठाभित्र प्लाष्टिकमा पोका पारी राखेको प्लाष्टिकसहित १४ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

लागूऔषध बरामद गरी सोधपुछ गर्दा सोही घरमा डेरा गरी बस्ने गौरीगञ्ज १ का २६ वर्षीय प्रवेश राईले समेत बिक्री गर्ने गरेको खुलेको थियो ।दुवै जनालाई इप्रका दमकमा ल्याइएको प्रहरीले जनाएको छ ।

 

त्यस्तै हिजो साँझ ५ः३० बजे लागूऔषध नियन्त्रण व्यूरो कार्यालय काँकरभिट्टाको टोलीले पुरानो मेची पुलमा शिवसताक्षी ७ दूधे बस्ने ३६ वर्षीय लाखबहादुर योङयालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

 

भारतको पानीट्याङ्कीबाट मे. ६ प ७७२६ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनीमाथि शंका लागेर तलासी लिँदा प्लाष्टिकबाहेक २ ग्राम १५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।