झापा । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको रजत महोत्सवको अवसरमा २ गण हेडक्वाटर झापाको आयोजनामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर भद्रपुरमा सम्पन्न भएको छ ।

 

बीएण्डसी अस्पताल बिर्तामोड, भद्रपुर नगरपालिका तथा सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पताल पकली सुनसरीको सहकार्यमा ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत भद्रपुर ३ स्थित अरनिको माविको खेलमैदानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

 

भद्रपुर नगर प्रमुख गणेश पोख्रेलको प्रमुख आतिथ्यमा भएको शिविरमा बीएण्डसी अस्पताल बिर्तामोडबाट बाल रोग, नाक कान घाँटी, स्त्री रोग, हाडजोर्नी, आन्तरिक चिकित्साअन्तर्गतका विशेषज्ञ चिकित्सकहरु र सशस्त्र प्रहरी बलबाट आएका चिकित्सकहरुको टोलीले भद्रपुरको हात्तीमारा, नयाँ बस्ती, धिमालधुरा र बैसाबारी क्षेत्रका ३१५ जना स्थानीयले सेवा लिएका थिए ।

 

कार्यक्रममा झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशीले सीमाको पहिलो पहरेदारका रुपमा निरन्तर डटिरहने सीमाबासी नागरिकहरुको अतुलनीय योगदानको कदर गरे ।

 

उनले सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सीमाबासी जनताको स्वास्थ्यलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिए ।