झापा । झापा भद्रपुरको दुई अलग अलग स्थानबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ७ जना पक्राउ परेका छन् ।

 

गएराति ९ः३० बजेतिर भद्रपुर ६ का श्रवण यादवको घरमा लागूऔषध रहेको भन्ने गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङ, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहान र लागूऔषध व्युरो ईकाई काँकडभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेको संयुक्त टोली खटिएको थियो ।

 

घर खानतलासी गर्दा प्लाष्टिकसहित ५४ ग्राम ४३० मिलिग्राम र प्लाष्टिकबाहेक ५० ग्राम ४३० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । लागूऔषधसहित ३१ वर्षीय यादव, सोही ठाउँ बस्ने २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशी पक्राउ परेका छन् ।

 

यसैगरी, राति १०ः३० बजे भद्रपुर ५ भद्रपुर बसपार्कमा सोही प्रहरी टोलीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर ५ का ३० वर्षीय शुभम साह, वडा नं ४ का ३० वर्षीय जयकरण कहार, वडा नं ६ का ३५ वर्षीय दुलाल शेख र सोही ठाउँ बस्ने २९ वर्षीय मोहम्मद अमिरबाब रहेका छन् ।

 

शेखको साथबाट प्लाष्टिकसहित १५ ग्राम ९० मिलिग्राम र प्लाष्टिकबाहेक १० ग्राम २०० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।