झापा । कोरोना भाइरस (कोभिड १९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका ११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालनमा आएको छ ।
स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाको ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा ७ वर्षअघि पार्क स्थापना गरिएको थियो । पार्कमा मनोरञ्जनका लागि जिपलाइन, ‘वेभ’पुल, पौडी खेल्न ‘स्विमिङ’ पुल, बच्चाका लागि किड्स पुल, ‘वाटर एक्टिभिटी स्टेसन’, कृत्रिम गुफा, आकर्षक मूर्तिकलालगायत संरचनाहरू छन् ।
‘अहिले ती सबै संरचना पुनः सञ्चालनमा ल्याएका छौँ’, पार्कका सञ्चालक सङ्ग्रौलाले भने, ‘पर्यटकीय विकासको सम्भावना देखेर लगानी गरेका थियौँ । कोरोना महामारीपछिको अवस्थाले बन्द गर्नुपरेको थियो । फेरि नयाँ व्यवस्थापन, सोच र आँटसहित पार्कलाई सञ्चालनमा ल्याएका छौँ । यसले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्पूर्ण योष्दान पुर्याउने विश्वास लिएका छौँ ।’
तीन बिघा क्षेत्रफलमा फैलिएको यस पार्कमा पर्यटकीय आवास र रेस्टुरेन्टका लागि ७ वटा भूकम्प प्रतिरोधात्मक भवन, दुई वटा सुविधा सम्पन्न रेस्टुरेन्ट, ३५ वटा आधुनिक आवासीय कोठा र १५० देखि ४०० जनासम्म अट्ने चार वटा सभाहल छन् ।
स्थानीय पत्रकार विनोद सापकोटाले पार्कको स्थापनाबाट स्थानीय क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो योगदान पुग्ने बताउँदै उनले यसबाट रोजगारी सिर्जना हुने उल्लेख गरे ।
सञ्चालक सङ्ग्रौलाले आगामी वैशाखसम्ममा तीन करोडको कारोबार गर्ने लक्ष्य राखिएको बताएका छन् । पार्कमा झापा, मोरङ र इलाम जिल्लाका स्थानीय पर्यटकका साथै भारतका विभिन्न स्थानबाट बाह्य पर्यटकसमेत आउने अपेक्षा गरिएको छ ।