मुम्बई (एजेन्सी) । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ ।
केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल लगिएकी उनलाई शनिबार राति आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
७ दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र होइन, विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन् । उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन् ।
उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ । गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरे । भारतीय संचारमाध्यमले पनि उनको निधनको खबर लेखेका छन् । उनको अन्त्येष्टि भोलि सोमबार गरिने परिवारले जनाएको छ ।
भारतीय सिनेमाकी सबैभन्दा सफल, लोकप्रिय र अत्यन्तै सक्रिय गायिकामध्ये एक भोसलेको स्थान हिन्दी फिल्म संगीतमा उनकी दिदी स्वर्गीय लता मंगेशकरसँग मात्र तुलना गरिन्थ्यो ।
सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गरेकी थिइन् । उनले सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी थिइन् भने १९५० को दशकसम्म आइपुग्दा बलिउडमा आफ्नै पहिचान स्थापित गरिसकेकी थिइन् ।