झापा । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्र्नब’को प्रभावले आजदेखि पर्सि शनिबारसम्म वर्षा र हिमपात हुने भएको छ ।
भारतबाट नेपालतर्फ सोझिरहेको प्रणालीको असरले हिजोदेखि बदली शुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम छ ।
आज दिउँसो मध्यमसम्मको वर्षा हुने र भरे बेलुकीदेखि पर्सि शनिबारसम्म केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । चक्रवातको प्रभावले नेपालमा वर्षा र हिमपात भए पनि भारतमा जस्तो हावाहुरी चल्ने सम्भावना भने छैन ।
नेपालबाट करिब दुई हजार किलोमिटर टाढा रहेको यो प्रणाली यहाँसम्म आइपुग्दा धेरै कमजोर भैसक्ने बताइएको छ । आज बेलुकीदेखि देशका विभिन्न ठाउँमा वर्षा शुरु भएर भोलि थप तीव्रताका साथ पानी पर्ने भएको छ ।
पछिल्लो मौसमी बुलेटिनअनुसार देशका केही ठाउँमा भरेदेखि पर्सि शनिबारसम्म ठूलो वर्षा र हिमपात हुनेछ भने आइतबारदेखि मौसममा सुधार आउनेछ ।
पर्सि शनिबारसम्म धान नकाट्न, उच्च हिमाली भूभागमा नजान र सुरक्षित ठाउँमा रहन तथा अत्यावश्यक बाहेक यात्रा नगर्न मौसमविद्हरुले सुझाव दिएका छन् ।