Spread the love
काठमाडौ । झापाको भद्रपुरमा निर्मित नेपाल–भारत जोड्ने मेचीपुल पूर्ण सञ्चालनमा देखिएको समस्या समाधान तथा जिल्लाका विकासे योजना सम्पन्न गर्न प्रधानमन्त्री र विषयगत मन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।
झापाका उपलब्ध सांसद र प्रदेश सांसद, स्थानीय सरकारका प्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्रका प्रतिनिधि सहितको १८ सदस्यीय टोलीले आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारस्थित निवासमा भेटी ध्यानाकर्षण पत्र बुझाएको हो ।
उक्त टोलीले  मेचीपुललाई पूर्ण सञ्चालनको वातावरण तत्काल बनाएर दक्षिण क्षेत्रका नागरिकको विकास र समृद्धिको ढोका खोल्न प्रधानमन्त्री ओली समक्ष आग्रह गरेको छ ।
भद्रपुरबासीको सात दशकदेखिको सपना मेचीपुल निर्माण भई उद्घाटन भए पनि भारततर्फ मेचीपुलसम्म जोड्ने बाटो भारतीय पक्षले नबनाइदिँदा र नेपालतर्फ केही स्थानीयले बाटो बिस्तारमा मुआब्जाको माग गरेकाले समस्या सिर्जना भएको छ । गत माघ १७ गते प्रधानमन्त्री ओलीले पुल उद्घाटन गरेका थिए ।
उनीहरुले मेचीपुल पूर्ण सञ्चालनको वातावरण बनाउन जतिसक्दो चाडो भारतीय पक्षलाई बाटो निर्माण गर्न लगाउनुपर्ने र नेपालतर्फ सडक बिस्तारको क्रममा वास्तविक घरजग्गा धनीले उचित मु–आब्जा पाउनुपर्नेमा जोड दिएका छन् । भारतले ४०० मिटर बाटो बनाइदिदा उतातर्फको समस्या समाधान हुनेछ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले तत्काल भारतसंग कुरा गरेर बहुप्रतिक्षित मेची पुल सञ्चालनको वातावरण बनाउने बताए । उनले मुआब्जा, तथा अन्य विकास योजनाबारे पनि आफू गम्भीर भएको बताए ।
जिल्लाको सदरमुकाम भद्रपुर–५मा पर्ने मेची पुल अहिले हलुका सवारी र पैदलयात्रीको मात्र प्रयोगमा छ । मेची पुल पूर्ण सञ्चालनका लागि पुलबाट एक सय ५० मिटर पूर्वतर्फ विहार र बंगालको सीमा हुँदै ४०० मिटर दुरीमा भारतीय पक्षले बाटो बनाउनुपर्ने हुन्छ भने भद्रपुरको झापाचोकदेखि मेची पुलसम्म १३ सय मिटर लामो बाटो हुलाकी सडकसँग जोड्नुपर्ने हुन्छ ।
झापा चोकदेखि मेचीपुलसम्म १३ सय मिटर दूरीमध्ये दुई सय १० मिटर क्षेत्रका वासिन्दाले मुआब्जा पाएको तर १०९० मिटरका बासिन्दालाई मुआब्जा नदिएर विभेद गरेको संघर्ष समितिको भनाइ छ  । ३२ घरसहित ५२ परिवारको निजी सम्पत्ति उक्त क्षेत्रमा पर्ने बताइएको छ ।