Spread the love

बिर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान सरकार जनवादी केन्द्रीयता लाद्न उद्यत रहेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन झापाको सोमबार बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उक्त कुरा बताएका हुन् । ‘निर्वाचन अघि कांग्रेसले जनता समक्ष भनेकोे जनवादी सत्ता लादिन्छ भनेको थियो अहिले क्रमशः सरकार त्यतैतिर लम्किरहेको छ’, पूर्वमहामन्त्री तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले भने ।

मन्त्रालय, संवैधानिक आयोग लगायतका निकायलाई ‘प्रधानमन्त्रीले आफूमा शक्ति सञ्चय गरेर शक्तिशाली बन्न खोजेको बताउँदै सिंहले भने, ‘सम्पत्ति शुद्धिकरण आयोग प्रधानमन्त्रीकै मातहतमा ल्याउनु, संसदमा पेश गरिएको सुरक्षा ऐनमा उल्लेखित आदेशका भरमा सेना परिचालन गर्नसक्ने ब्यवस्था गर्न खोज्नु, प्रदेश र स्थानीय तह सुहाउँदो कानून बनाउन आलटाल गर्नुले लोकतन्त्रमाथि जोखिम देखिएको छ ।’ लोकतन्त्रमा मात्रै प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रता सुरक्षित हुने भन्दै सिंहले यसका लागि मिसन पत्रकारिता आवश्यक रहेको बताए ।
सशस्त्र द्वन्द्वमा रहेको विप्लब नेतृत्वको पार्टीलाई प्रतिबन्ध गर्नु उचित नभएको बताउँदै उहाँले वार्ता, संवाद र सहमतिबाटै समस्या समाधान गर्न सरकारलाई सुझाव दिए ।

सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा माओवादीलाई कांग्रेसकै नेतृत्वमा सहमतिमार्फत संसदीय राजनीतिक पद्धतिमा ल्याएको उदाहरण प्रस्तुत गर्दै उनले विप्लबसँगको समस्या पनि वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

फरक प्रसङ्गमा नेता सिंहले नरम बोल्दा समाचारको विषयबस्तु नबन्ने र कडा बोल्दा प्रेसले आफू अनुकूल प्रस्तुत गरिदिदा विवाद निम्तिने गरेको बताउँदै गम्भिर राजनीतिक मुद्दामा संवेदनशिलता बुझेर मात्रै प्रस्तुत गरिदिन आग्रह गर्दै केही दिन अघि पार्टी महामन्त्री शशांक कोइरालाले धर्मका विषयमा दिएको अभिव्यक्ति व्यक्ति भएको स्पष्ट पार्दै पार्र्टीको आधिकारीक धारणा नभएको बताए ।