Spread the love

झिलझिले । शिवसताक्षी नगरपालिका ११ स्थित दूधे बजारमा रहेको एक घरमा आइतबार दिउँसो आगलागी हुँदा लाखौको क्षति भएको छ ।

स्थानीय भगिरथ सिवाकोटीको दुईतले काठको घरमा दिउँसो साडे १ बजे आगलागी भएको हो । आगलागीबाट लत्ताकपडा, अन्नपातसँगै नगद जल्दा करिब सात लाखबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख ढुण्डीराज गिरीले बताए ।

आगलागीका कारण यकिन नभए पनि विद्युत् सर्ट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । सिवाकोटीको घरमा शंकर ठाकुर र अमर भुजेल डेरा गरी बस्थे । उनीहरुको पनि सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको बेला आगजनी भएकाले केही बचाउन नसकिएको बताइएको छ ।

आगलागी स्थानीयबासी, प्रहरी र दमक नगरपालिकाको दमकलको सहायतमा एक घण्टापछि नियन्त्रणमा आएको झिलझिले प्रहरीले जनाएको छ ।