Spread the love

जनकपुर । माध्यमिक परिक्षा बोर्ड (एसइई) अन्तर्गत विज्ञान विषयको परीक्षामा प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को ८ वटै जिल्लाको दिइएको परीक्षा रद्दको गरिएको छ।

परीक्षाअघि नै प्रश्नपत्र आउट भएपछि प्रदेश २ का ८ जिल्लामा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्दका गरिएको प्रदेश २ का शिक्षा निर्देशनालयका निर्देशक रमाकान्त शर्माले जानकारी दिए। बुधबार राति ११ बजेतिर भाइबर, इमो, ह्वाट्सएपलगायत सामाजिक सञ्जालका माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको प्रदेश २ का शिक्षा निर्देशक शर्माले जानकारी दिए।

साथै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न राष्ट्रिय परीक्षा बोर्डको नेतृत्वमा पाँच सदस्यीय समिति गठनसमेत गरिएको छ। प्रदेश २ भरी नै विज्ञान विषयको परीक्षा रद्द गरेको र रद्द भएको विज्ञान विषयको परीक्षा चैत २२ गते गरिने निर्देशक शर्माले बताए।

बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो। बिहीबार परीक्षा भएपछि जिल्ला परीक्षा समन्वय समितिले जिल्लाको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो। तर, प्रदेशभरी एउटै प्रश्नपत्र हुने भएकाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै विज्ञान विषयको परीक्षा रद्द गरेको प्रदेश २ शिक्षा निर्देशनालयले जनाएको छ।