Spread the love

काठमाडौं । आठौं वृहत राष्ट्रिय खेलकुद बैशाख ५ गते देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको शुक्रबार बसेको बोर्ड बैठकले पाँच नम्बर प्रदेशमा हुने प्रतियोगिताको मिति तय गरेको हो ।

प्रतियोगिताको मितिलाई लिएर विभिन्न आशंका सिर्जना भएपछि मन्त्रालयले राखेपकाे बोर्ड बैठक बाेलाएकाे थियाे ।

यसअघि बसेको कार्यकारी समितिको बैठकले चैत २५ गते प्रतियोगिताको उद्घाटन गर्न प्रस्ताव गरेको थियो । तर पछिल्लो समय राखेप सदस्य सचिव केशवकुमार विष्ट चैत २७ मा उद्घाटन हुने बताएका थिए ।

नेपालगञ्ज रंगशालाको भिआईपी प्याराफिटको निर्माण कार्यसम्पन्न नहुदाँ प्रतियोगिताको मिति अनिश्चित बनेको थियो ।

तर अहिले भिआईपी प्याराफिटको काम तिव्र गतिमा अघि बढेको छ ।

प्रदेश नम्बर पाँचका खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले प्रतियाेगिताका केही खेल चैतमै सुरु हुने जानकारी दिएका छन् ।

चैत २५ भित्र सम्पुर्ण निर्माण कार्य सकिने राखेपले बताएपनि बाेर्ड बैठकले बैशाखकाे पहिलाे साता प्रतियाेगिताकाे मिति तय गरेकाे हाे ।