Spread the love

भद्रपुर । झापाको दक्षिणी नाका कचनकबलबाट अबैध रुपमा नेपाल भित्र्याइएको लाखौँ मूल्यका भारतीय अवैध औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले २२ लाख ३० हजार मूल्य बराबरको १४ कार्टुन भारतीय औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको दिल्ली घर भई हाल काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामा, झापाको बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इतियाज आलम र २८ वर्षीय ताहिर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

उनीहरुलाई मे १ च ४०६३ नम्बरको मारुती भेन, भारतीय नम्बर प्लेट बीआर ३७ जी १४४० को मोटरसाइकल र मे ६ प १०१६ नम्बरको नेपाली मोटरसाइकलमा औषधिहरु लुकाई छिपाई भारतबाट ल्याउँदै गरेको अवस्थामा कचनकवल गाउँपालिका–१ स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा शनिवार पक्राउ गरेको थियो ।

बरामद गरिएको औषधिहरुमा ब्रेस्टिम आयल तेल ७९९ बट्टा, ओर्लिम्याक्स ३१० क्याप्सुल उल्लेखित भएको ५ कार्टुन, फ्लोमिस्ट नासल स्प्रे २ कार्टुन, केयरप्रोस्ट नाम उल्लेखित रहेको २ कार्टुन, एमएग्रा उल्लेखित एक हजार बट्टा र जुरिक उल्लेखित १ कार्टुनमा रहेको ४०५ बट्टा, फोरड्रम उल्लेखित १ हजार २ सय बट्टालगायत रहेको छ । सो सामानको मूल्य रु. २२ लाख ३० हजार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

बरामद गरिएको अधिकांश औषधि यौन उत्तेजना बढाउन प्रयोग गरिने किसिमको रहेको छ । मुख्य अभियुक्त फुन्चोक लामाले सो सामान काठमाडौं लैजान लागेको प्रहरीले जनाएको छ ।

बरामद औषधि आजै औषधि व्यवस्था विभागको कार्यालय विराटनगर पठाइने उनले बताए । पक्राउ गरिएका चारै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर कानूनी कार्वाहीका लागि अनुसन्धान भइरहेको उपरीक्षक मैनालीले बताए ।
सोही अवसरमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएका लत्ताकपडा, भाडा वर्तनलगायतका रु. ७ लाख ७८ हजार बराबरका सामाग्री पक्राउ गरेको जानकारी दिएको छ । सो सामग्री आजै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।

प्रहरीले मेचीनगर, भद्रपुर नगरपालिकालगायतका विभिन्न स्थानबाट बरामद भएएको तीन सय लिटर घरेलु मदिरा समेत आज नष्ट गरेको छ ।