अर्जुनधारा । फोहोर नफँयाक्न अनुरोध गरिएको स्थानमा फोहोर फँयाक्ने एक व्यवसायीलाई अर्जुनधारा–६का टोल सुधार समिति र नगर सरसफाई अभियानका अभियन्ताहरुले सम्बन्धित व्यवसायीलाई नै फोहोर फिर्ता गरेको छ ।
समितिले सूचना बोर्ड राखेको शनिश्चरे–बिर्तामोड सडक खण्डको दासपुल क्षेत्रमा फोहोर फँयाकेका सोही वडाअन्र्तगत कप्तानबारीमा सञ्चालनरत् वान स्टार सैलुनका सञ्चालक भारत सिलिगुढी निवासी सुनिल ठाकुरलाई फोहोर फिर्ता गरिएको हो ।
कपालका टुक्रालगायतले भरिएको बोरा सरसफाईको ३२औं हप्ताको सन्दर्भमा सोमबार विहान नगर सरसफाई अभियानका अभियन्ताहरुले सरसफाई गर्ने क्रममा फेला पारेको अभियानका संयोजक कमल पोखरेलले बताए ।
व्यवसायीको उक्त कार्य गलत भएको हुँदा ऐनमा उल्लेख भएको व्यवस्था अनुसार थप कार्वाहीको लागि मंगलबार (आज) वडा कार्यालयमा सम्पर्क गर्न भन्दै वडाध्यक्ष लोकनाथ गौतमले फोहोरको बोरा सञ्चालक ठाकुरलाई हस्तान्तरण गरेका थिए ।
विना दर्ता व्यवसाय सञ्चालन गरेका ठाकुरलाई तत्काल व्यवसाय दर्ता गर्न वडाध्यक्ष गौतमले सुझाएका थिए । कार्यक्रममा वडा सदस्य लक्ष्मी महतरा, संघीय समाजवादी फोरम नेपाल नगरका अध्यक्ष सृजलाल चौधरी, अभियन्ताहरु बिमल भट्टराई, भरत बस्नेत, मिलन राई र विष्णु आचार्यलगायतको उपस्थिति रहेको थियो ।