इलाम । सन्दकपुर गाउँपालिका वडा नं. २ माइपोखरी अगाडि रहेका होटलहरुमा आगलागी भएको छ ।
आगलागीमा चार घर जलेर नष्ट भएका छन् । चार घरमा आधा दर्जन होटल सञ्चालनमा थिए ।
आगलागीमा निमदोर्जे शेर्पा, कमल मुखिया, चक्र मुखिया, र लाक्पा शेर्पाको घर जलेर नष्ट भएको हो । आगलागी भएको ४५ मिनेटमा चारै वटा घर जलेर नष्ट भएको स्थानीय युवराज पिसीले बताए ।
आगो नजिकैको जंगलमा फैलन सक्ने संभावना भएकाले सुरक्षाकर्मी र स्थानीयले रुख ढाल्ने र आगो निभाउने काम गरिरहेका छन् ।
चक्र मुखियाको घरको भान्साबाट आगो फैलिएको स्थानीयले बताएका छन् । सबै काठको घर भएकाले आगलागी तीब्र भएको थियो । इलाम नगरपालिकाबाट दमकल गए पनि आगलागी भइसकेपछि मात्र पुगेको थियो ।